काठमाडौं उपत्यकाको फोहोर प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फाल्न सुरु गरिएको छ।बञ्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले संघर्ष समितिका श्रीराम ढुंगानासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। त्यस्तै धर्ना दिएर बसेका अन्य व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्थानीय बादल गजुरेलले जानकारी दिए।उनका अनुसार त्यहाँ अहिलेसम्म फोहोर लगिसकेको छैन। तर प्रहरी र सशस्त्र प्रहरी मिलेर बल प्रयोग गरी स्थानीयलाई नियन्त्रणमा लिने काम भइरहेको उनले बताए।‘फोहोर अहिलेसम्म ल्याएको छैन। प्रहरी र सशस्त्र आएर सुरूमा पाँच जनालाई समाएको छ। पछि अरूलाई पनि नियन्त्रणमा लिने काम भइरहेको छ,’ उनले भने। फोहोर फाल्न नदिने भन्दै सिसडोल र बञ्चरे डाँडा बीचको आलेटार भन्ने ठाउँमा बिहान देखि स्थानीयले धर्ना दिइराखेका थिए। प्रहरीले अहिले कसैलाई हिँड्न दिएको छैन।
प्रहरीले त्यस ठाउँ वरिपरिका घरभित्रै पुगेर पनि मानिसहरूलाई नियन्त्रणमा लिइसकेका छन्।प्रहरीले अवरोध गर्ने १४ स्थानीयलाई पक्राउ गरेको छ। बञ्चरे डाँडामा प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक गौतम मिश्रसहितको टोली पनि पुगेका छन्।अहिले सो स्थानमा धमाधम फोहोर विसर्जन सुरु गरिएको प्रहरीले जनाएको छ।
Discussion about this post