Khabar Samachar

Search
Close this search box.

तीनपिप्ले–बञ्चरे डाँडा सडक खण्डको बाटो निर्माणको ठेक्का रद्द

212
VIEWS

तीनपिप्ले–बञ्चरे डाँडा सडक खण्डको बाटो निर्माणको ठेक्का पाएको शैलुङ इन्टरप्राइजेजकाे ठेक्का रद्द भएको छ। जिल्ला अदालत ललितपुरले यसअघि भएको अन्तरिम आदेशलाई खारेज गर्दै उक्त कम्पनीसँगको सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयलाई सदर गरेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी शारदा अधिकारीको कम्पनी शैलुङ्ग इन्टरप्राइजेजले गत असार ५ गते सडक विभागले ठेक्का रद्द गर्ने निर्णय विरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले अन्तरिम आदेश जारी गरेको थियो । मंगलबार ललितपुर जिल्ला अदालतकी न्यायाधीश सिता शर्माको एकल इजालसले उक्त अन्तरिम आदेशलाई खारेज गर्दै सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयको पक्षमा आदेश दिएको छ। सडक विभागले अधिकारीको कम्पनीलाई तीन वर्षसम्म कालो सूचीमा राख्न पनि  सिफारिस गरेको छ।आठ वर्षअघि भएको ठेक्कामा सडक विभागले पटक पटक म्याद थप गर्दा पनि अधिकारीको कम्पनीले काम नगरेपछि गत चैतमा अन्तिम पटक थपिएको म्याद सकिएको थियो। कम्पनीलाई ७ पटकसम्म म्याद थप गर्दा पनि समयमा काम सम्पन्न भएको थिएन। अन्तिम पटक थपिएको गत चैतमा म्याद सकिएपछि सडक विभागले थप म्याद नथप्ने भन्दै गत असार ५ गते ठेक्का तोडेको थियो। तर, अधिकारीको कम्पनी ‘शैलुङ इन्टरप्राइजेज’ ले जिल्ला अदालत ललितपुरमा सडक विभागविरुद्ध मुद्दा दायर गरेको थियो। गत असार १५ गते दायर गरिएको उक्त मुद्दामा साेमबार फैसला भएको हो। यसअघि जारी गरिएको अन्तरिम आदेशलाई खारेज गर्दै अदालतले सडक विभागले कम्पनीसँग गरेको ठेक्का रद्दलाई सदर गरेको छ। फैसलामा सडक विभागले कम्पनीसँग गरेको ठेक्का रद्द गरेर नयाँ ठेक्का गर्न खोजेको विषयलाई नै सदर गरिएको छ। अदालतले अधिकारीको कम्पनी ‘शैलुङ इन्टरप्राइजेज’ लाई तीन वर्षसम्म कालो सूचीमा राख्नसमेत आदेश दिएको तिनपिप्ले–वञ्चरेडाँडा सडक खण्ड निर्माण योजनाको योजना प्रमुख गौतम कुमार श्रेष्ठले बताए ।

अदालतको फैसलापछि प्रचण्डमाथि बालेन्द्रको कटाक्ष

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सचिवालयका एक सदस्यकाअनुसार सो सडक खण्डकै कारण पनि फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ। मेयर बालेन्द्र स्वयंले पनि समय समयमा सडकको अवस्थाका कारण फोहोर व्यवस्थापनमा समस्या भएको बताउँदै आएका थिए। मंगलबार अदालतले गरेको फैसलासँगै बालेनले सामाजिक सञ्जालमार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई कटाक्ष गरेका छन्। उनले फेसबुकमा सो सडक खण्डको भिडियो राख्दै लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यु! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित