Khabar Samachar

उपेन्द्र यादव बालकोटमा, एमालेसँग सहमति तयारी

205
VIEWS

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सत्तारुढ गठबन्धनको बालुवाटारमा बिहीबार बसेको सत्तारुढ गठबन्धनको बैठक छाडेर बालकोट पुगेका छन्।

नेपाली कांग्रेस र माओवादी केन्द्रले १६ सिटमात्रै दिने अडान लिएपछि असन्तुष्ट रहेका यादवले केही सातायता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद अघि बढाएका थिए।

यादवनिकट स्रोतका अनुसार उनी सकेसम्म आजै एमालेसँग चुनावी तालमेलमा सहमति गर्ने गरी बालकोट पुगेका हुन्। यदि एमाले र जसपाबीच चुनावी गठबन्धनमा सहमति भएमा दुई वर्षयता कायम सत्तारुढ गठबन्धन फुट्नेछ।

एमालेले सत्तारुढ गठबन्धन फुटाउने शर्तमा जसपालाई बढीमा २५ सिट दिएर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने तयारी गरेको छ।

‘दुई दलबीच २५ सिटमा चुनावी तालमेल गर्ने अनौपचारिक समझदारी यसअघि नै भइसकेको छ’, यादवका एक सहयोगीले नेपालखबरलाई भने, ‘अध्यक्ष बालकोट जानु भएको खबर आएको छ। आजै दुई दलबीच चुनावी तालमेल सहमति हुने सम्भावना उच्छ।’

असोज २३ मा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्नुपर्ने भएपछि सत्तारुढ गठबन्धन पनि बिहीबारै सहमति जुटाउने तयारीमा थियो। गठबन्धन दलबीच दोहोरो दाबी भएका ८ वटा बढी सिटमा अझै सहमति हुन सकेको छैन।

जसपा अध्यक्ष यादव कांग्रेसले ८५ बढी र माओवादीले ५० बढी सिट लिएर आफूलाई १६ सिटमा मात्रै सीमित गर्न खोजेको भन्दै असन्तुष्ट थिए।

एमालेले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल नगर्ने निष्कर्ष निकाले लगत्तै जसपाले गठबन्धन पहल गरेको थियो। सत्ता गठबन्धनका दुई ठूला दलले आफूलाई हेपेको ठानेका यादवले यसअघि पनि बालकोट पुगेर ओलीसँग वार्ता गरेका थिए।

यदि यसअघिको अनौपचारिक समझदारीअनुसार संवाद अघि बढेमा एमाले र जसपाले बिहीबारै सहमतिपत्रमा हस्ताक्षर गरेर चुनावमा होमिने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित