Skip to main content

Khabar Samachar

Search
Close this search box.

दुई मन्त्री पाउने भएपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने

207
VIEWS

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा जान तयार भएको हो ।छलफलमा नागरिक उन्मुक्तिले २ मन्त्री पाउने सहमति भएको नेताहरूले बताएका छन् । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशसभाका सांसद लक्ष्मणकिशोर चौधरीले कृषि मन्त्रालय पाउने निश्चित भएको बताए ।

संसदका ४ समितिलाई बढाएर ६ बनाउने र २ वटा समिति नागरिक उन्मुक्तिलाई दिइने बालुवाटारको छलफलमा सहभागी नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री नरेश शाहीले जानकारी दिए । त्यस्तै नागरिक उन्मुक्तिले एक राज्यमन्त्री पनि पाउने भएको छ ।

पार्टीका संरक्षक रेशमलाल चौधरीले सोमबार पनि प्रधानमन्त्री दाहाललाई भेटेका थिए । छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरी र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलगायतका नेताहरू पनि सहभागी थिए ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पनि बिहीबार सुदूरपश्चिम सरकारमा सहभागी हुने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

कांग्रेस–माओवादी गठबन्धन नबन्दासम्म सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा थियो । नागरिक उन्मुक्तिको विश्वास पाउने आशासहित माघ २७ मा कांग्रेसका कमल शाह मुख्यमन्त्री नियुक्त भएका थिए । तर केन्द्रमा एमालेसहितको गठबन्धन भत्केर कांग्रेस सम्मिलित नयाँ गठबन्धन बनेपछि नागरिक उन्मुक्ति पार्टीको निर्णायक हैसियत ओझेलमा पर्‍यो । माओवादीको समर्थन नहुँदासम्म नागरिक उन्मुक्ति पार्टीलाई मागेजति मन्त्रालय दिन तयार मुख्यमन्त्री शाहले जेठ ६ मा मन्त्रिपरिषद् पुनर्गठन गर्दा एउटा मात्र मन्त्रालय दिन तयार भए ।

एउटा मात्र मन्त्रालय दिने भनेपछि नागरिक उन्मुक्ति सरकारमा सहभागी भएको थिएन । सुदूरपश्चिममा अहिले २ वटा मन्त्रालय रिक्त छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पनि मुख्यमन्त्री शाहले नै सम्हाल्दै आएका छन् । असार ५ मा सडक दुर्घटनामा परी आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त मन्त्रालय पनि रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित