Khabar Samachar

जुम्ला गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारी दुई दिनदेखि प्रहरी नियन्त्रणमा

231
VIEWS

अध्यक्षमाथि हातपात गर्ने जुम्ला गुठिचौर गाउँपालिका उपाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले आइतबार गाउँपालिका अध्यक्ष दानबहादुर बुढामाथि हातपात गरेकी थिइन्।

आजबाट सुरू भएको आर्थिक वर्षको बजेट कार्यपालिकाबाट पारित गराउन छलफल चल्दै गर्दा एक्कासि हातपात गरेको उजुरीपछि उनी आफैं प्रहरीको सम्पर्कमा पुगेकी थिइन्।

उनलाई अहिले पनि प्रहरी नियन्त्रणमा राखिएको गाउँपालिकाका प्रवक्ता अर्जुनकुमार महताराले जानकारी दिए।

‘अध्यक्ष आफ्नै चेम्बरमा बसिराख्नु भएको थियो। कार्यपालिका बैठक सुरू हुन आँट्दै थियो। उपाध्यक्षले एक्कासी आएर बजेटको सिलिङ माग्नुभयो। अध्यक्षले सूचना प्रविधि हेर्ने अधिकारीलाई सिलिङ देखाउन अह्राउँदै हुनुहुन्थ्यो,’ प्रवक्ता महताराले भने, ‘उहाँ एक्कासि अध्यक्षमाथि जाइलाग्नुभयो। सुरूमा दुई झापड हानेपछि चप्पल प्रहार गर्नुभयो। हामीले असहमति केमा हो बुझ्नै पाएनौं।’

कार्यपालिकाको बैठकले घटनाप्रति दुःख व्यक्त गरेको उनले बताए। गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ।

‘उहाँले वडाहरूको सिलिङ हेर्न खोज्दै हुनुहुन्थ्यो। साना वडालाई ४६ लाख र ठूलालाई ६० लाख पर्ने गरेर ८ करोड बजेट छुट्ट्याइएको छ। संघको अनुदान १ करोड ८५ लाख भएकाले गाउँपालिकाको दायित्व १ करोड ५० लाख छ,’ उनले भने, ‘बजेटमा असहमति हुन्थ्यो भने कार्यपालिका बैठकमै राखेको भए हुन्थ्यो। भौतिक आक्रमणमै उत्रिएपछि घटनाको निन्दा गर्नुबाहेक हामीसँग विकल्प छैन।’

गाउँपालिका अध्यक्ष दानबहादुर बुढा कांग्रेसका हुन् भने उपाध्यक्ष मल्ल नेकपा (एकीकृत समाजवादी) की हुन्।

अघिल्लो वर्ष माओवादी र कांग्रेस मिलेर बजेट पारित गरिएकामा यसपटक पनि दुई दल नै मिलेर अनुमोदन गरेको र एकीकृत समाजवादी बाहिरै रहेको प्रवक्ता महताराले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक धर्मराज जोशीले घटनाबारे उपाध्यक्ष मल्लसँग सोधपुछ जारी रहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित