Khabar Samachar

पीएल सिंह अस्वस्थ, मेडिसिटीमा गरियो अपरेसन

223
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर रहेका पीएलसिंह अस्वस्थ भएका छन् । अल्सर बिग्रिएर आन्द्रामा समस्या देखिएको हो । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको पेटको अपरेसन गरिएको छ ।

खानामा अरुचि भएपछि अस्पताल लैजाँदा रगतमा होमोग्लोबिनको मात्रा कम देखिएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । त्यसक्रममा ८४ वर्षीय सिंहलाई बान्ता भएको थियो । बान्तामा रगत देखिएपछि इन्डोस्कोपी गर्दा अल्सर पत्ता लागेको थियो ।

“अल्सर भएको र आन्द्राबाट ‘ब्लिडिङ’ भएको थाहा भएपछि अपरेसन गरिएको हो,” सिंहका भाइ इन्द्रलाल सिंहले  भने, “अहिले उहाँलाई ‘अब्जरवेसन’मा राखिएको छ ।”

उनको अवस्था बुझ्न अस्पताल पुगेकी नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले चिकित्सकको ‘ब्रिफिङ’पछि मात्र त्यसबारेमा जानकारी हुने बताइन् ।

कांग्रेसका संस्थापक नेता तथा ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहका प्रमुख सहयोगी भएर पीएलले काम गरेका थिए । गणेशमानसँग परिवारका सदस्यभन्दा निकट मानिने पीएलले पछिल्लो समय कांग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आएका थिए ।

उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए । गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए । पीएल त्यसपछि आफ्नै निवासमा बस्न थालेका थिए ।

०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बने । पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन् । पीएलले आफ्नो कार्यकालमा गरेका कामले काठमाडौं महानगरपालिकाको जग हालिएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित