काठमाडौँ महानगरपालिकामा ४ अरब ४९ करोड रुपैयाँ बचत रकम फिर्ताको पहल गरिदिन भन्दै निवेदन परेको छ । बुधवार ११८ वटा सहकारीका ६,२६६ बचतकर्ताले महानगरपालिकाको सहकारी विभागमा सो निवेदन दिएका हुन् ।
बचतकर्ताले सहकारी संस्थाहरूबाट ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागदावी गरेका हुन् ।
‘महानगरपालिका कार्यक्षेत्र भएका १ हजार ९१७ वटा सहकारी संस्था छन् । यीमध्ये सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली ९कोपोमिस० मा १ हजार ७४४ संस्था दर्ता भएका छन् । तर, वार्षिक प्रतिवेदन बुझाउनेको संख्या भने ८३८ मात्र छ,’ उनले भने ।
यसरी सम्पर्क बाहिर भएका तथा महानगरपालिकाले समस्याग्रस्त घोषणा गरेका सहकारीको व्यवस्थापन गर्ने, कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष र ऋण असुली न्यायाधीकरणलगायत विषयमा संघीय सहकारी विभाग र महानगरपालिकाको सहकारी विभागका बिचमा समन्वयका विषयमा छलफल भयो । ढकालले महानगरपालिकाभित्र भएका सहकारीहरूको अवस्थाका विषयमा जानकारी गराएका छन् ।
महानगरपालिकाको सहकारी नियमन महाशाखा प्रमुख सुशील सुवेदीले छलफलमा भने, ‘महानगर कार्यक्षेत्र भएका ५ वटा सहकारीलाई प्रदेश सहकारी विभागले आपसमा मर्ज (गाभिदियो) गरिदियो । गाभिएका सहकारीहरूको फाइल हामीसँग छ । हामीसँग फाइल भएका सहकारी प्रदेशले कसरी गाभ्यो रु हामीलाई सोधेको पनि छैन । जानकारी पठाएको पनि छैन । मर्ज भएका सहकारीहरू हामी त मर्ज भयौँ भन्दै आएपछि हामीलाई थाहा भयो ।’
‘मर्ज हुनुअगाडि डिडिए (ड्यु डेलिजेन्स अडिट) भएको देखिँदैन । वित्तीय कारोबार गर्ने सहकारीहरूको वित्तीय तथा व्यवस्थापकीय अवसर, दायित्व, जोखिम, व्यवस्थापन जस्ता पक्षको अध्ययन नै नगरी, महानगरपालिकालाई नसोधी कसरी ती सहकारी मर्ज भए ? हामी आफैँ अचम्मित छौँ,’ सुवेदीले भने ।
छलफलमा उपरजिष्ट्रार रघुनाथ महत र शशीकुमार लम्सालले, अन्तरसरकार समन्वयमा सहकारी क्षेत्रको व्यवस्थापन हुने कुरामा जोड दिँदै यसका लागि दायित्वको भार स्थानीय तहलाई धेरै भएको उल्लेख गरे ।
महानगरपालिकाको विभाग, सञ्चालक समितिका सदस्य, बचतकर्ता, ऋणी, घरधनी र कर्मचारीसँग सम्बन्धित धेरै उजुरी र गुनासा आउने गरेका छन् । हस्तान्तरण नभएको, नगरेको, गर्न नचाहेको, ऋण नतिरेको, सबै सञ्चालक सक्रिय नभएको, बचतकर्ताले तनाव दिएको, आफू सञ्चालक भएको आफैँलाई जानकारी नभएको, हुलाकबाट राजीनामा दिएर कार्यालयको दायित्व नलिएको जस्ता समस्या सञ्चालकका समस्या हुन् ।
बचत रकम, शेयर रकम फिर्ता नदिएको, बचत रकममा धेरै करकट्टी गरेको, विभागले पठाएको पत्रलाई प्रहरीले चासो नदिएको, सञ्चालकहरू भाग्न लागेकोले आफ्नो बचत जोखिममा परेको, समयमा साधारण सभा गरेर आफ्नो रकम सुरक्षाका विषयमा जानकारी नदिएको, कार्यालय बन्द हुने गरेको जस्ता समस्या बचतकर्ताहरूबाट आउने गरेका छन् ।
सहकारीले मिटर व्याज लिएको, थाहै नदिई घरजग्गा लिलाम प्रक्रिया अगाडि बढाएको, घरजग्गा रोक्का गरिदिएको भन्ने गुनासो र रोक्का भएको घरजग्गा फुकुवा गरिदिन, ऋण मिनाहा गरिदिन ऋणीहरूबाट माग आउने गरेको महानगरले जनाएको छ ।
सहकारीहरूसँग घरधनीहरूको समस्या पनि जटिल छ । सहकारीले घरभाडा नतिरेको, कार्यालय धेरै समयदेखि राखेको, कार्यालय सञ्चालन भए नभएको जानकारी नदिएको, बचतकर्ता आएर कार्यालय तोडफोड गर्दा आफ्नो घरको संरचना नष्ट भएको बिग्रिएको उनीहरूको गुनासा छन् । यस्तै कोठा खाली गरी दिनु प¥यो, भाडा रकम पनि त्यही सहकारीमा बचत गरेको थिएँ डुब्ने भयो उठाउने उपाय के हुन सक्छ जस्ता समस्या लिएर घरधनीहरू आउने गरेका छन् ।
कर्मचारीहरू तलब नपाएको गुनासो लिएर आउँछन् । सहकारीमा आफूलाई सञ्चालक राखेको थाहा नपाएको, बचत खर्च नजनाई सञ्चालकले रकम लगेको, बचतकर्ताले कर्मचारीलाई दबाब दिएको जस्ता कर्मचारीहरूको गुनासो छ ।
तत्कालीन डिभिजन सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल सरकारले २०७४ साउन १ गते निर्णय गरेको थियो । त्यसअनुसार २०७५ साउन १ गतेदेखि डिभिजन सहकारीले गर्दै आएका काम महानगरमा हस्तान्तरण भएको छ । हस्तान्तरण हुनु अघि नै अर्थात् २०७४ सालमा नै काठमाडौं महानगरपालिकाले सहकारी ऐन जारी गरिसकेको थियो ।
































Discussion about this post