Khabar Samachar

पोखराको ल्यान्डफिल साइट भरतपोखरीमा सार्न पूर्वाधार बनाउने निर्णय

205
VIEWS

पोखरा महानगरपालिकाले वडा नं. ३३ भरतपोखरीमा ल्यान्डफिल स्थानान्तरण गर्न आवश्यक पूर्वाधार बनाउने भएको छ ।

स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिको बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले भरतपोखरीमा ल्यान्डफिल साइट सार्न आगामी बजेटमा आवश्यक बजेटको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

पोखरा ३३, भरतपोखरीमा महानगरको ल्यान्डफिल साइट सार्ने निर्णय भने यसअघिकै कार्यपालिका बैठकले गरेको थियो । निवर्तमान मेयर मानबहादुर जिसीको नेतृत्वमा १६ चैतमा बसेको कार्यपालिका बैठकले पोखरा ३३, भरतपोखरीको साविक ६ र ७ वडामा नम्बर वडामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । तर यो निर्णय कार्यान्वयनमा जान बाँकी थियो ।

बिहीबार कार्यपालिका बैठकले आवश्यक बजेट र पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ । मेयर धनराज आचार्यका प्रेस संयोजक गोविन्द सुवेदी भन्छन्, ‘अब भरतपोखरीमै ल्यान्डफिल साइट बनाउने गरी नै आधिकारिक निर्णय भएको हो ।’
हाल महानगरले पोखरा १४ बच्छीबडूवामा फोहोर विर्सजन गर्दै आइरहेको छ । महानगरबाट दैनिक करिब २ सय टन फोहोर उत्सर्जन हुँदै आइरहेको महानगर स्वास्थ्य तथा सरसफाइ महाशाखाको तथ्यांक छ ।

१५ वर्षका लागि भएको सम्झौता सकिइसकेपछि पनि विकल्प नखोजिएको भन्दै बच्छीबडूवा क्षेत्रका बासिन्दाले पटकपटक आन्दोलन गर्दै आइरहेका छन् । गत चैतमा पनि महानगरले आफूहरुसँग गरेको सम्झौता पूरा नगरेको र म्याद गुज्रिएर पनि फोहोर फालिरहेको भन्दै स्थानीयबासिन्दाले फोहोर बोक्ने गाडीलाई अवरोध गरेका थिए । महानगरपालिकाले उनीहरुको माग सम्बोधन गर्ने सहमति गरेपछि मात्रै गाडी जान दिएका थिए ।

पोखरा विमानस्थल कनेक्सन !

बच्छीबडूवाको ल्यान्डफिल साइट निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै छ । ९२ प्रतिशत भौतिक कार्य सकिएसँगै चिनियाँ ठेकेदार कम्पनी सीएएमसीले विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण नै गरिसकेको छ । तर विमानस्थल सञ्चालनका लागि ल्यान्डफिल साइट सार्नुपर्छ । किनकी ल्यान्डफिल साइट कायम राख्दा गिद्धलगायत चराचुरुङ्गी जहाजमा ठोक्किने र त्यसले भौतिकमात्रै नभएर मानवीय क्षति हुने जोखिम रहन्छ ।

विमानस्थल आयोजनाले पटकपटक ल्यान्डफिल साइटको विकल्प खोज्न पत्राचार गरे पनि महानगरले काम अगाडि बढाएको थिएन । सुरुआतीदेखि नै प्रत्येक वर्षको नीति तथा कार्यक्रम, बजेटमै समावेश गरेर ल्यान्डफिल सार्ने योजना अगाडि सारे पनि कार्यान्वयन गर्न भने सकेको थिएन ।

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलदेखि दुई किलोमिटर दूरीमा रहेको पोखरा–१४ बाच्छेबडुवास्थित ल्याण्डफिल साइडको दृश्य ।

स्थानीयबासिन्दाको चर्को विरोध र विमानस्थल आयोजनाको तारान्तरको ताकेतापछि नयाँ ल्यान्डफिल साइट खोज्न करिब ३ वर्षअगाडि पोखरा १३ का तत्कालीन वडाध्यक्ष दर्शन लामाको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले १ वर्षभन्दा बढी समय लगाएर प्रतिवेदन तयार पारेको पनि थियो ।

त्यसमाथि महानगरको ४७ औं कार्यपालिका बैठकमा छलफल गर्ने भनिए पनि उक्त एजेन्डाले कुनै बैठकमा प्रवेश नै पाएन । प्रतिवेदन सार्वजनिक समेत गरिएन ।

पछि ०७८ असार १८ गते पोखरा महानगर वडा नं. १६ का तत्कालीन वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा नयाँ समिति गठन भएको थियो । उक्त समितिले पोखरा २० सहित पोखरा ३३ लाई नयाँ ल्यान्डफिल साइटका विभिन्न विकल्प पेश गरेको थियो ।

यसअघि महानगरले पोखरा १६ र २० को बीचमा पर्ने पस्मराङमा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो ।

तर स्थानीयको चर्को विरोध पनि महानगर आफ्नै निर्णयबाट पछि हट्न पुगेको थियो ।

ल्यान्डफिल साइट बनाउने बजेट रकमान्तर

आफ्नो कार्यकालको अन्तिम समयमा आएर अघिल्लो निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्व अघिल्लो कार्यपालिका बैठकले ल्यान्डफिल साइट रकमान्तर गरेको थियो ।

महानगरको माघ २७ गतेको कार्यपालिका बैठकको एजेन्डालाई २८ गतेको नगर सभाले पारित गरेको थियो ।

ल्यान्डफिल साइट स्थानान्तरण गर्न चालु आर्थिक वर्षका लागि ४ करोड रुपैयाँ छुट्याएको थियो । कार्यकालको अन्तिममा आएर बजेट कार्यान्वयन गर्न नसकिने भन्दै साना टुक्रे योजनामा रकमान्तर गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित