Skip to main content

Khabar Samachar

Search
Close this search box.

पोखराको ल्यान्डफिल साइट भरतपोखरीमा सार्न पूर्वाधार बनाउने निर्णय

206
VIEWS

पोखरा महानगरपालिकाले वडा नं. ३३ भरतपोखरीमा ल्यान्डफिल स्थानान्तरण गर्न आवश्यक पूर्वाधार बनाउने भएको छ ।

स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिको बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले भरतपोखरीमा ल्यान्डफिल साइट सार्न आगामी बजेटमा आवश्यक बजेटको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

पोखरा ३३, भरतपोखरीमा महानगरको ल्यान्डफिल साइट सार्ने निर्णय भने यसअघिकै कार्यपालिका बैठकले गरेको थियो । निवर्तमान मेयर मानबहादुर जिसीको नेतृत्वमा १६ चैतमा बसेको कार्यपालिका बैठकले पोखरा ३३, भरतपोखरीको साविक ६ र ७ वडामा नम्बर वडामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । तर यो निर्णय कार्यान्वयनमा जान बाँकी थियो ।

बिहीबार कार्यपालिका बैठकले आवश्यक बजेट र पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ । मेयर धनराज आचार्यका प्रेस संयोजक गोविन्द सुवेदी भन्छन्, ‘अब भरतपोखरीमै ल्यान्डफिल साइट बनाउने गरी नै आधिकारिक निर्णय भएको हो ।’
हाल महानगरले पोखरा १४ बच्छीबडूवामा फोहोर विर्सजन गर्दै आइरहेको छ । महानगरबाट दैनिक करिब २ सय टन फोहोर उत्सर्जन हुँदै आइरहेको महानगर स्वास्थ्य तथा सरसफाइ महाशाखाको तथ्यांक छ ।

१५ वर्षका लागि भएको सम्झौता सकिइसकेपछि पनि विकल्प नखोजिएको भन्दै बच्छीबडूवा क्षेत्रका बासिन्दाले पटकपटक आन्दोलन गर्दै आइरहेका छन् । गत चैतमा पनि महानगरले आफूहरुसँग गरेको सम्झौता पूरा नगरेको र म्याद गुज्रिएर पनि फोहोर फालिरहेको भन्दै स्थानीयबासिन्दाले फोहोर बोक्ने गाडीलाई अवरोध गरेका थिए । महानगरपालिकाले उनीहरुको माग सम्बोधन गर्ने सहमति गरेपछि मात्रै गाडी जान दिएका थिए ।

पोखरा विमानस्थल कनेक्सन !

बच्छीबडूवाको ल्यान्डफिल साइट निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै छ । ९२ प्रतिशत भौतिक कार्य सकिएसँगै चिनियाँ ठेकेदार कम्पनी सीएएमसीले विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण नै गरिसकेको छ । तर विमानस्थल सञ्चालनका लागि ल्यान्डफिल साइट सार्नुपर्छ । किनकी ल्यान्डफिल साइट कायम राख्दा गिद्धलगायत चराचुरुङ्गी जहाजमा ठोक्किने र त्यसले भौतिकमात्रै नभएर मानवीय क्षति हुने जोखिम रहन्छ ।

विमानस्थल आयोजनाले पटकपटक ल्यान्डफिल साइटको विकल्प खोज्न पत्राचार गरे पनि महानगरले काम अगाडि बढाएको थिएन । सुरुआतीदेखि नै प्रत्येक वर्षको नीति तथा कार्यक्रम, बजेटमै समावेश गरेर ल्यान्डफिल सार्ने योजना अगाडि सारे पनि कार्यान्वयन गर्न भने सकेको थिएन ।

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलदेखि दुई किलोमिटर दूरीमा रहेको पोखरा–१४ बाच्छेबडुवास्थित ल्याण्डफिल साइडको दृश्य ।

स्थानीयबासिन्दाको चर्को विरोध र विमानस्थल आयोजनाको तारान्तरको ताकेतापछि नयाँ ल्यान्डफिल साइट खोज्न करिब ३ वर्षअगाडि पोखरा १३ का तत्कालीन वडाध्यक्ष दर्शन लामाको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले १ वर्षभन्दा बढी समय लगाएर प्रतिवेदन तयार पारेको पनि थियो ।

त्यसमाथि महानगरको ४७ औं कार्यपालिका बैठकमा छलफल गर्ने भनिए पनि उक्त एजेन्डाले कुनै बैठकमा प्रवेश नै पाएन । प्रतिवेदन सार्वजनिक समेत गरिएन ।

पछि ०७८ असार १८ गते पोखरा महानगर वडा नं. १६ का तत्कालीन वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा नयाँ समिति गठन भएको थियो । उक्त समितिले पोखरा २० सहित पोखरा ३३ लाई नयाँ ल्यान्डफिल साइटका विभिन्न विकल्प पेश गरेको थियो ।

यसअघि महानगरले पोखरा १६ र २० को बीचमा पर्ने पस्मराङमा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो ।

तर स्थानीयको चर्को विरोध पनि महानगर आफ्नै निर्णयबाट पछि हट्न पुगेको थियो ।

ल्यान्डफिल साइट बनाउने बजेट रकमान्तर

आफ्नो कार्यकालको अन्तिम समयमा आएर अघिल्लो निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्व अघिल्लो कार्यपालिका बैठकले ल्यान्डफिल साइट रकमान्तर गरेको थियो ।

महानगरको माघ २७ गतेको कार्यपालिका बैठकको एजेन्डालाई २८ गतेको नगर सभाले पारित गरेको थियो ।

ल्यान्डफिल साइट स्थानान्तरण गर्न चालु आर्थिक वर्षका लागि ४ करोड रुपैयाँ छुट्याएको थियो । कार्यकालको अन्तिममा आएर बजेट कार्यान्वयन गर्न नसकिने भन्दै साना टुक्रे योजनामा रकमान्तर गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित