नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिकबाट नियालिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयका आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उक्त कुरा बताएकी हुन् । ‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपाल सँभैभर एक चीन नीतिको समर्थन गर्दै आएको छ,’ प्रवक्ता लम्सालले भनिन् । ‘नेपाल शान्तिप्रेमी राष्ट्र हो। ताइवान समस्या शान्तिपूर्वक नै समाधान होस् भन्ने पक्षमा नेपाल छ,’ उनले भनिन्। लम्सालले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताइन्।
‘दुवै मुलुक (नेपाल र चीन) ले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएका छन्,’ परराष्ट्र प्रवक्ता लम्सालले भनिन्, ‘एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको जानकारी गराउन चाहन्छु ।’
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यसै साता चीनको चेतावनीको बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन–ताइवान र चीन–अमेरिका सम्बन्धमा तनाव बढेको छ । पेलोसीले ताइवानको भ्रमण गरेको जवाफमा अहिले चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानको सीमा नजिक मिसाइल समेत प्रहार गरेको छ ।
‘दुबै राष्ट्रले एक अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएका छन्। नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ,’ उनले भनिन्।
परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणमा यस विवादबारे कुनै छलफल नहुने उनले बताइन्।
‘यो विवाद हालैको हो। परराष्ट्र मन्त्रीको भ्रमण निकै अघि तय भएको हो। त्यहाँ यसबारे कुनै छलफल हुनेछैन,’उनले भनिन्।
परराष्ट्र मन्त्री खड्का तीन दिन चीन भ्रमणका लागि साउन २४ मा चीन जाँदैछन्।
Discussion about this post