Khabar Samachar

वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य

222
VIEWS

आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजबाट तीन सय ४० रनको विजय लक्ष्य पाएको छ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय ३९ रन बनाएको थियो ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ३३९ रन जोड्यो।

वेस्ट इन्डिजका लागि शाइ होप र निकोलाश पूरनले उत्कृष्ट ब्याटिङ गरे। दुवै ब्याटरले शतक प्रहार गर्न सफल भए।

होप र पूरनबीच चौथो विकेटका लागि २१६ रनको विशाल साझेदारी भएको थियो। ११५ रन बनाएका पूरनलाई दीपेन्द्रसिंह ऐरीले ४४औं ओभरको अन्तिम बलमा क्याच आउट गरे। पूरनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरका थिए।

अन्तिम ओभरको दोस्रो ‌बलमा आउट भएका होपले १३२ रन प्रहार गरे। उनले १२९ बलमा १० चौका र ३ छक्का हिर्काए।

१४ बलमा २९ रन प्रहार गरेका रोभमन पावेललाई ललित राजवंशीले ४८ ओभरको पहिलो बलमा गुल्सन झाबाट क्याच गराए। यस्तै जासन होल्डरले नटआउट १६ रन जोडे।

त्यसअघि विकेटकिपर आसिफ शेखले वेस्ट इन्डिजका पूरनको दुई पटक क्याच मिस गर्दा नेपाललाई महँगो पर्‍यो। आसिफले पूरन ३ रन र ५४ रन बनाएर खेलिरहदा क्याच छुटाएका थिए। पहिलोपटक ललित राजवंशी र दोस्रो पटक करण केसीको बलमा उनको क्याच छुटेको थियो।

त्यसअघि नेपालले उत्कृष्ट सुरुवात गर्ने क्रममा वेस्ट इन्डिजका ओनपिङ ब्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट गरेको थियो। मेयर्सलाई दोस्रो ओभरमा करणले कुशल भुर्तेलबाट क्याच गराए।

यस्तै जोनसन चार्ल्सलाई गुल्सन झाले शून्यमा आउट गरेपछि नेपालले ४.१ ओभरमा दोस्रो सफलता हात पार्‍यो।

त्यसपछि ओपनर ब्रान्डन किङ १५.३ ओभरमा ३२ रनमा सन्दीप लामिछानेबाट बोल्ड भएका थिए।

बलिङमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए। उनले १० ओभरमा ५२ रन खर्चिए।

यस्तै करण केसी, सन्दीप लामिछाने, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिन सफल भए।

प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल खेलिरहेको हो। पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

वेस्ट इन्डिज आज खेलेपछि नेपालले अन्तिम खेल २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ। बाँकी दुई मध्ये एक खेलमा जित निकाल्न सकेको अवस्थामा नेपालको सुपर सिक्स सम्भावना हुनेछ।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित