Skip to main content

Khabar Samachar

Search
Close this search box.

रास्वपा रुपन्देहीमा विवादपछि कुटपिट

220
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा विवाद देखिएको छ । पार्टीको संस्थापन पक्षले विधानको कुरा उठाउने नेताको सदस्यता खारेजी र कुटपिट गरेको भन्दै अर्को पक्षले विरोध जनाएको छ ।

पार्टीको र्‍यापिड एक्सन टिम सैनामैना नगर संयोजक दामोदर खत्रीले विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्दा प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतले पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको र उल्टै आफू बिरुद्ध कुटपिटको उजुरी दिएको बताए ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी खत्रीले पार्टीलाई विधान अनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन घिमिरे, ज्ञवाली र तिवारीको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उनीहरुको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको बताए ।

पार्टी विधानको धारा १३ (ङ) मा सरकारी विद्यालयमा पढाउने ब्यक्ति कुनै पनि पदमा नरहने ब्यवस्था भए पनि जिल्ला संयोजक ज्ञवाली रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ पिपरहिया स्थित बालविकास आधारभूत विद्यालयमा पढाउने शिक्षक भएको र उक्त कुरा उठाउँदा आफुमाथि कुटपिट भएको बताए ।

प्रदेश उपसभापति घिमिरेले क्षेत्रीय निर्वाचनमा पदीय मर्यादा विपरीत मतदातालाई प्रभावमा पारी मतदाताको मोबाइलबाट आफैंले मत हाल्नेसम्मको कार्य गरेको र सो कुराको विरोध गर्दा षडयन्त्रपूर्वक आफ्नो सदस्यता खारेज गर्ने र कुटपिट गरिएको खत्रीको आरोप छ ।

‘गत बुधबार राति मलाई पार्टीको सैनामैना नगर समितिको कार्यालयमा बोलाई प्रदेश उपसभापति घिमिरे, जिल्ला संयोजक ज्ञवाली र क्षेत्रीय सदस्य तिवारीको समूहले आगामी मंसिरमा हुने अधिवेशनमा नेतृत्व हत्याउन विभिन्न खाले प्रलोभन देखाएको र आफूले बिधानको कुरा उठाउँदा विवाद भएपछि आक्रमण भएको हो’, खत्रीले भने ।

कुटपिट भए पनि पार्टीभित्रको कुरा भनेर आफूले प्रहरीमा उजुरी नगरेको तर उनीहरुले उल्टै आफूबिरुद्ध उजुरी दिएको उनको भनाइ छ ।

खत्रीले रास्वपामा फरक मतलाई दबाएर लोकतन्त्रको अभ्यास हुन नदिई निरंकुशता लादेकाले पार्टीमा नरहेको घोषणा समेत पत्रकार सम्मेलनमा गरे । रास्वपा जिल्ला संयोजक प्रकाश ज्ञवालीले खत्रीले पार्टी हित विपरीत काम गरेकाले कारवाही प्रक्रिया अघि बढाएको तर उनले पार्टी परित्याग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित