Khabar Samachar

झापा १ मा विश्वप्रकाश शर्मा र अग्नि खरेलवीच चुनावी प्रतिस्पर्धा

208
VIEWS

झापा १ मा नेकपा एमालेका केन्द्रीय सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मावीच  चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा चर्चामा रहेका एमाले नेता रविन कोइराला भने प्रदेशसभामा चुनाव लड्ने भएका छन् ।

पूर्वमहान्यायाधिवक्तासमेत रहेका एमाले नेता खरेल यसअघि झापा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने चर्चा थियो । तर, क्षेत्र नम्बर २ मा देवराज घिमिरेले टिकट पाएपछि खरेल क्षेत्र नम्बर १ मा सरेका हुन् । खरेलसँग अब कांग्रेस महामन्त्री शर्माले प्रतिस्पर्धा गर्ने पक्कापक्की भएको छ ।

झापा क्षेत्र नम्बर १ मा ०७४ को चुनावमा एमाले–माओवादी गठबन्धनका तर्फबाट माओवादी नेता राम कार्कीले चुनाव जितेका थिए । कार्कीसँग कांग्रेस नेता शर्मा पराजित  बनेका थिए ।

आगामी मंसिर ४ को चुनावमा एमाले नेता खरेललाई राप्रपाले साथ दिने भएको छ भने कांग्रेस नेता शर्माले माओवादीको साथ पाउने छन् ।

०७४ को चुनावमा एमाले माओवादी गठबन्धन हुँदा विजयी बनेका कार्कीले ३६ हजार १७३ मत पाएका थिए भने कांग्रेसका विश्वप्रकाशले एक्लै ३३ हजार ३१० मत पाएका थिए ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा हेर्दा यस क्षेत्रमा एमाले बलियो देखिएको छ । यस क्षेत्रमा पर्ने कुल २१ वडाहरुमध्ये एमालेले १४ कांग्रेसले ६ र माओवादीले एउटा वडाध्यक्ष जितेका थिए ।

झापा क्षेत्र नम्बर १ मा कुल २१ वटा वडा छन् । यस क्षेत्रमा मेची नगरपालिकाका सबै वडाहरु समेटिएका छन् । त्यस्तै भद्रपुर नगरपालिकाका वडा नम्बर ९ र १० यस क्षेत्रमा समेटिएका छन् । बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ७ नम्बर वडाहरु यस निर्वाचन क्षेत्र अन्तरगत पर्छन् ।

गत स्थानीय चुनावमा मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै एमालेले जितेको थियो । कुल १५ वटा वडामध्ये ११ वटा वडा एमालेले जितेको थियो । कांग्रेसले ३ वटा र माओवादीले एउटा वडा जितेको थियो ।

भद्रपुरका ९ र १० नम्बर वडाहरु पनि एमालेले नै जितेको थियो ।

त्यस्तै यस क्षेत्रमा पर्ने बुद्ध शान्ति गाउँपालिकाका ४ वडा वडामध्ये तीनवटा काँग्रेसले र एउटा एमालेले जितेका थिए ।

स्थानीय चुनावको मतका आधारमा एमाले अगाडि देखिए पनि कांग्रेस महामन्त्रीको व्यक्तित्वका कारण गत चुनावको गणित अहिले काम नलाग्ने कांग्रेस नेताहरुको तर्क छ । तर, एमाले नेताहरु भने राप्रपाको समेत साथ पाउँदा खरेल झनै बलियो बनेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित