Khabar Samachar

बिरामीलाई किन दिइन्छ सलाइन पानी ?

212
VIEWS

अस्पतालमा कतिपय बिरामीलाई सलाइन पानी दिइरहेको हामी देख्छौं । खासमा किन सलाइन पानी दिइन्छ ? कुन अवस्थामा दिइन्छ ? त्यसले बिरामीलाई के प्रभाव पार्छ ? त्यो औषधि हो वा अरु केही ? सर्वसाधारणमा उठ्ने स्वभाविक जिज्ञासा हुन् यी ।

शरीरमा पानी, चिनी, पोटासियम, सोडियमको अभावबाट हुन सक्ने समस्याबाट बचाउन सलाइन पानी आवश्यक पर्छ । जसले शरीरमा रक्तसञ्चार कायम राखी महत्वपूर्ण अंगलाई हुने हानिबाट जोगाउन मद्दत गर्छ ।

खासगरी बिरामीले मुखबाट औषधिको सेवन गर्न नसक्ने अवस्थामा सलाइन पानी दिइन्छ । त्यस्तै बिरामीलाई तारन्तार बान्ता भइरहेको छ भनेपनि सलाइन दिइन्छ । बिरामीलाई छिटो निको बनाउन पनि सलाइन दिइन्छ । कहिलकाहीं औषधिले काम गर्ने भएपनि त्यसको प्रभाव बिरामीको शरीरमा ढिलो हुनसक्ने भएमा सलाइन दिइन्छ । स्लाइन सोझै रगत नसामा दिइने भएकोले छिटो काम गर्छ ।

सलाइन बाहिरबाट हेर्दा सबै एउटै जस्तो देखिए पनि बिरामीको अवस्था हेरेर विभिन्न किसिमको सलाइन पानी प्रयोग गरिएको हुन्छ । धेरैजसो प्रयोग गरिने सलाइन पानीहरु यसप्रकार छन् ।

नर्मल सलाइन (एनएस) : रगतमा नुनको कमी भएका नर्मल सलाइन दिइन्छ । यसमा सोडियम र पानी हुन्छ । रगतमा नुनको मात्र धेरै कम छ भने तीन प्रतिशत नर्मल सलाइन दिइन्छ । सामान्यतया: रगतमा सोडियमको मात्रा १३५ देखि १४५ मिलिईक्विभ्यालेन्ट्स प्रति लिटर हुनुपर्छ । तर रगतमा १२६ वा सो भन्दा कम छ भने तीन प्रतिशत एनएस सलाइन दिनुपर्छ । तर एकैचोटि दिनुहुँदैन बिस्तारै समय मिलाएर दिइन्छ ।

रगतमा थोरै मात्र नुन कमी भए हाफ नर्मल सलाइन दिइन्छ । शरीरमा नुन कति मात्रामा आवश्यक छ त्यही अनुसार सलाइन दिइन्छ । तर बिरामीले मुखबाट खान सक्छ भने सलाइन पानी दिनु आवश्यक हुँदैन ।

डेक्सट्रोज सलाइन : हाइपोग्लाइसेमिया (रगतमा सुगरको कमी) भएकालाई डेक्सट्रोज सलाइन दिइन्छ । रगतमा सुगरको मात्रा कमी हुने बेला यस्तो सलाइनको प्रयोग गरिन्छ । शरीरमा कुनै कारणवश रगतमा सुगरको कमी भएर बेहोस वा अचेत अवस्थामा हुँदा यस्तो सलाइन दिइन्छ । किनभने यसमा सुगर हुन्छ । र, बिरामीको सुगर लेभल अनुसार फरक-फरक प्रतिशतको डेक्सट्रोज सलाइन दिइन्छ । जस्तै ५ प्रतिशत, १० प्रतिशत, २५ प्रतिशत, ५० प्रतिशत डेक्सट्रोज हुन्छ ।

डेक्सट्रोज नर्मल सलाइन (डीएनएस) : यसमा सुगर, सोडियम, पोटासियम र पानी हुन्छ । झाडापखाला र तारन्तार बान्ता भएकामा यस्तो सलाइनको प्रयोग गरिन्छ ।

रिंगर ल्याक्टेट (आरएल) : पोटासियमको कमी भएमा रिंगल ल्याक्टेट (आरएल) दिने गरिन्छ ।

यसबाहेक सलाइन विभिन्न रोगअनुसार दिइन्छ । जस्तै कुनै बिरामीको रगत जाँच गर्दा झाडापखाला, बान्ता भएको छ भने त्यस्ता बिरामीलाई डीएनएस र आरएल सलाइन दिइन्छ । यसबेला शरीरमा पानी, सुगर, नुन, पोटासियम सबै कम हुन्छ ।

मधुमेहको बिरामी भएमा नर्मल सलाइन, एनएस नर्मल सलाइन र आरएल मात्र दिनुपर्छ । डेक्सट्रोज दिनुहुँदैन । किनभने सुगरको लेबल बढ्न सक्छ ।

बिरामीको वजन, रोगको अवस्था र बिरामीको अवस्थाअनुसार सलाइनको मात्रा निर्धारण गरिन्छ । मुटुरोगको समस्या छ भने सलाइन पानी धेरै दिनुहुँदैन । कुनै कुनै औषधि सलाइनमा मिसाएर मात्रै दिनुपर्ने हुन्छ । शरीरमा भिटामिनको कमी भएमा अवस्थामा सलाइनमा भिटामिन मिसाएर दिइन्छ ।

कुन कुन अवस्थामा सलाइन दिइन्छ ?

सामान्य हिसाबले बुझौं । जब कुनै बिरामीले मुखबाट खानेकुरा, पानी वा आवश्यक कुरा खान सक्दैनन्, उनीहरुलाई रक्तनसामार्फत सलाइन पानी दिइने गरिन्छ । बेहोस भएका, निरन्तर बान्ता भइरहने, खाना पेटमा नअडिने, औषधि खाँदा पनि बान्ता हुने भएमा सलाइन पानी दिनु जरुरी हुन्छ ।

शरीरमा पानीको अभाव भएका, अत्यधिक रक्तश्राव भएका, इमर्जेन्सीमा भर्ना भएका बिरामीलाई तुरुन्तै सलाइन पानी दिइने गरिन्छ । त्यस्तै झाडापखालाले असहज बनाएका, शल्यक्रियाको तयारी गरिरहेका र पेट खाली राख्नुपर्ने अवस्थाका बिरामीलाई पनि स्लाइन पानी दिइन्छ ।

उपचारका क्रममा रगत खेर जाने जोखिम भएका बिरामीलाई सलाइन दिइन्छ । लगातार नसाबाट औषधि दिनुपर्ने भएका पनि सलाइन दिइन्छ ।

यसको कुनै नराम्रो असर हुनसक्छ ?

सलाइन पानी सिधै रक्तनसामा इन्जेक्सनको माध्यमबाट दिइने हुनाले साइट इफेक्ट सुई लगाएको ठाउँमा दुख्ने, घाउ हुने, सुन्निने, रातो हुने, चिसो लाग्ने, ज्वरो आउने, रक्तचाप कमी हुने हुन्छ । त्यस्तै घाउमा संक्रमण भएर रगतको माध्यमबाट संक्रमण छिर्न सक्छ । विभिन्न जटिल रोग लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित